अर्थमन्त्री शर्माद्वारा जुम्लाकाे स्याउ बगैँचाकाे अवलोकन

जुम्ला – अर्थमन्त्री जनार्दन शर्माले नेपालको सबैभन्दा ठूलो स्याउ बगैँचाको अनुगमन गर्नुभएको छ । जुम्ला गुठीचौर गाउँपालिका-५ मा रहेकाे किसान मीनबहादुर भण्डारीको ३३ हजार बिरुवा फुजी स्याउ भएको बगैँचाको अनुगमन गर्नुभएको हो । 

बगैँचाको अवलोकन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखनीय योगदान रहेको र यसमा पनि जुम्लामा स्याउले अर्थतन्त्र सुधार्न सहयोग गर्नेमा जोड दिनुभयो । उहाँले  प्रति किसानलाई एक वर्षमा पाँच सय स्याउका बिरुवा रोप्ने भए पनि सरकार तयार रहेकोमा जोड दिनुभयो । 

’किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार तयार भएको र स्याउ उत्पादन तथा बजारीकरणको अवस्था अवलोकनमा आएको उहाँले बताउनुभयो। 

अर्थमन्त्री शर्माले भन्नुभयाे ‘कर्णालीसँग सम्रग देशलाई नै पाल्न सक्ने सामर्थ्य भएकाले कर्णालीमा लगानी बढाउन जरुरी छ । अब स्याउ किसान थप जुर्मुराउनु पर्छ । किसान पेन्सन कार्यक्रमलाई दुर्गममा पुर्याउन, किसानलाई उपयुक्त प्रविधि मल बिउ समयमै पुर्याउन समेत सरकार गम्भीर छ।’

अर्थमन्त्री शर्माले जुम्लाका उत्पादनलाई सहज रुपमा बजारमा पुर्याउन, किसानलाई सहुलियत दिन तथा बिचौलियालाई पाखा लगाउन सरकारले ठोस नीति लिने समेत बताउनु भयो ।  कर्णालीको कृषिमा पर्याप्त लगानी भए कर्णालीको गरिबी पाँच वर्षमा अन्त्य हुने उहाँको दाबी छ । जुम्ली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सहज वातावरण बनाउन सरकार लागि परेको उहाँकाे भनाइ छ । 

प्रतिनिधि सभा सांसद गजेन्द्र बहादुर महतले गुठीचाैर एग्रोफर्म जुम्लाकै नमुना र आर्थिक समृद्धिको आधार रहेकाे बताउँदै  गुठीचाैर एग्रोफर्मले सय्याैँलाई रोजगारी प्रदान गर्नेदेखि कृषि क्रान्तिको सुरुवात भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले गुणस्तरीय स्याउ उत्पादन भएमा  बजारीकरणको चिन्ता नहुने बताउनुभयो । 

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले निम्न वर्गीय नागरिकको जीवनस्तर उकास्न कृषिमा पालिकाले लगानी बढाउने बताउनु भयाे । २०७५ सालदेखि सुरुवात गरिएको गुठीचाैर एग्रोफर्ममा १३ करोड रुपैयाँ लगानी गरेर ३३ हजार बिरुवा रोपिएको सञ्चालक मीन बहादुर भण्डारीले बताउनु भएकाे छ। ५० हजार बिरुवा रोप्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयाे ।

उज्यालोबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *