राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले भएभरका सांसदहरूले सरकारलाई समर्थन गरेर विचित्र चरित्र देखाएको बताएका छन्।
तर राष्ट्रिय जनमोर्चा प्रतिपक्षमै बस्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने उनले बताए।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘नेपालमा आज विचित्र भयो। भएभरका सबै सरकारमा सामेल हुने। सरकारमा सामेल हुने भनेपछि सरकारमा बस्नेलाई यहाँभन्दा हाइसञ्चो र आनन्द के होला?’
उनले यो कस्तो समर्थन हो बुझ्न नसकेको पनि उनले बताए।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन गरेपछि सत्ता साझेदार दलहरूले चर्को स्वरमा धेरै कुरा गरेको पनि उनले बताए।
उनले राष्ट्रिय जनमोर्चा एक्लै भए पनि प्रतिपक्षमा बस्ने बताए।
‘बलियो शक्तिशाली प्रतिपक्ष भएन भने त्यो सरकार निरंकुश हुन्छ। त्यसले जे मन लाग्यो त्यही गर्छ,’ उनले भने, ‘सबै सरकारमा सामेल भएर विगतमा भएका आफ्ना गल्ती ढाक्ने र त्यहीँभित्र लडेर एउटालाई पन्छाएर सरकारमा आउने त होइन? यसो गरेर सरकार चल्छ? देश बन्छ?’