उपसभामुख चुनाव आज 

काठमाडौँ — प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनका तर्फबाट रास्वपाकी समानुपातिक सांसद रानामगरले उम्मेदवारी दिएकी हुन् ।

उनको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन छन् । यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे छन् । एकीकृत समाजवादीका मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक समर्थक छन् ।

कांग्रेसले एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासहित मोर्चा बनाएर उपसभामुखमा उम्मेदवारी दिएको हो । रानामगरको पक्षमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी छन् । बिहीबार भएको सभामुखको निर्वाचनमा यही गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेका छन् । संसद् सचिवालयले उपसभामुखको निर्वाचनको कार्यक्रम शनिबार तय गरेको छ ।

कांग्रेसबाट उम्मेदवारी दिएकी यादव पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी राष्ट्रिय सभाकी पूर्वसांसदसमेत हुन् । उनी २०७४ मा मधेस प्रदेशबाट दुई वर्षका लागि राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । त्यसअघि उनी २०७० मा समानुपातिक सांसद थिइन् ।

शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले झापाकी रानामगरलाई अघि सारेको हो । उनी सामाजिक क्षेत्रमा स्थापित भइसकेकाले उपसभामुखमा अघि सारेको रास्वपाले जनाएको छ । बन्दी सहायता नेपालकी संस्थापक उनले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *